बैतडी:बैतडीका विभिन्न स्थानमा रहेका भगवती मन्दिरहरूमा महाअष्टमीकाे जात्रा सम्पन्न भएकाे छ। यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएकाे हाे।
घटस्थापनादेखि महाअष्टमीसम्म गरेर यहाँका भगवती मन्दिरहरूमा करिब एकहजार पशुबलि चढाइएकाे जनाएको छ।
जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै ५१२ पशुको बलि दिइएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा ३१७ राङ्गा र १९५ बोकागरी ५१२ पशुको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिनुभयाे ।
पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राङ्गा र १२ बाेकाको बलि दिइएको छ ।
मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म २ सय २० पशुको बलि दिइएको छ । १०० राङ्गा र १२० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिनुभयाे ।
सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ पशुको बलि दिइएको छ । बिहीबार राती १४ राङ्गा र ७ बोकाको गरी २१ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष केशव सिंह बिष्टले जानकारी दिनुभयाे ।
डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राङ्गा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिनुभयाे ।
डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राङ्गा र दुई बोकागरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताउनुभयो।
पुर्चाैडीका विभिन्न भगवती मन्दिरमा गरेर १२ रांगा र ४२ बाेकाकाे बलि चढाइएकाे छ।
डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्राभरीमा १८ बोकाको बलि दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिनुभयाे ।
यस्तै दाेगडाकेदार गाउँपालिका ३ सिल्लमा रहेकाे रणशैनी भगवती मन्दिरमा २६ रांगा र ३२ बाेकाकाे बलि दिइएको रणशैनी भगवती मेला व्यवस्थापन समिति सदस्य जनक चन्दले जानकारी दिनुभयाे।
यहाँका मन्दिरहरूमा लाग्ने जात्रामा छिमेकी राष्ट्र भारतका समेत दर्शनार्थी आउने गरेका छन्।
भगवतीका मन्दिरमा सम्पन्न जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।
