प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा शुरू,पशुबली भाेलि हुने

बैतडी:बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरू भएकाे छ। दशरथचन्द नगरपालिका-२ स्थित यस मन्दिरमा बडादशैँको अवसरमा हरेक बर्ष महासप्तमी र महाष्टमीका दिन जात्रा लाग्ने गरेको छ । 

यो बर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले असोज आज र भाेलि जात्रा लाग्ने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयाे। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गरेकाे स्थानीय दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो । महाष्टमीको अघिल्लो दिन महासप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन रही आएको छ । 

जात्राका लागि मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरु आउने क्रम शुरु भइसकेको छ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट भगवतीको दर्शनका लागि दर्शनार्थीहरु पुग्ने गरेका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरेको छ । 

यो क्षेत्रको प्रमुख शक्तिपीठको रुपमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । शरदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा शुरु भइ महासप्तमी र महाष्टमीमा ठूलो जात्रा लाग्ने गर्दछ ।
यस्तै पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीका दिन लाग्ने जात्राको चहलपहल शुरु भएको छ । यही आज र भाेलि मन्दिरमा जात्रा लाग्ने मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताउनुभयाे। 

उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ । महाष्टमीको दिन मन्दिरमा राँगा ल्याउने र महानवमीको दिन राँगाको बलिदिने चलन रही आएको छ । 

उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिएको छ । पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टका अनुसार उदयदेव मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । 

उदयदेव मन्दिरमा जात्रा नजिक आउन थालेपछि दर्शनार्थीहरुको संख्या समेत बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!