बैतडी-काठमाडौं बस सञ्चालनकाे माग,गृहमन्त्रीलाई ध्यानाकर्षण
बस सञ्चालन गर्न सम्भव छैन: यातायात व्यवशायी
बैतडी: दुई वर्षदेखि बन्द रहेको बैतडी-काठमाडौं बस सेवा पुनः सञ्चालनकाे माग गरिएको छ। नेपाल विद्यार्थी संघले बैतडी-काठमाडौं सिधा बस सेवा सञ्चालन गर्न माग गरेको हाे ।
दशैंतिहारलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।
नेविसंघका जिल्ला उपाध्यक्ष अमरबहादुर टेरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत गृहमन्त्रीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको हो ।
दशैंको समयमा काठमाण्डौंमा अध्ययनरत विद्यार्थीहरु जिल्ला फर्कने भएपनि बस सेवा नहुँदा समस्या भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले ज्ञापनपत्र मार्फत गृहमन्त्री ध्यानाकर्षण गराएको उपाध्यक्ष टेरले बताउनुभयाे।
दशैंको समयमा काठमाडौंबाट बैतडी फर्कने विद्यार्थीहरुले यातायातका साधनको समस्या झेल्न नपरोस भन्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयाे। विद्यार्थीमात्रै नभएर काठमाण्डौंबाट बैतडी फर्कने अन्य यात्रुहरुलाई समेत समस्या भएकोले यो बिषयमा सरोकारवालाहरुको ध्यान जानु आवश्यक रहेको नेविसंघका नेता समेत रहनुभएका जगन्नाथ बहुमुखी क्याम्पसका स्ववियु सभापति धनी भट्टले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त ज्ञापनपत्र गृहमन्त्रालय पठाइसकेको बताउनुभयाे। उहाँले भन्नुभयाे,”ज्ञापनपत्रमा माग गरिअनुसार नै गृहमन्त्रालयलाई पठाइकेका छाै। माग सम्बाेधन हुन्छ हाेला।”
महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिले वि स २०७३ असाेजदेखि पहिलोपटक बैतडी–काठमाडौँ एसी बस सेवा सुरु गरेको छ। छ वर्षपछि यात्रु अभावमा बस सेवा बन्द भएकाे थियाे।
वि स २०७९ मंसिरदेखि बन्द रहेकाे बस सेवा हालसम्म पनि सञ्चालन हुन सकेको छैन्।
यता बस सेवा पुनः सञ्चालन गर्न भने तत्काल सम्भव नरहेकाे यातायात व्यवशायीले जनाएका छन्।
महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिका उपाध्यक्ष विष्णु कडेँलका अनुसार यात्रु नपाउँदा सेवा बन्द भएकाे हाे । उहाँले भन्नुभयाे,” यात्रु नपाएर छ वर्ष सञ्चालन भएकाे बस सेवा बन्द भएकाे हाे। पुनः सञ्चालनका लागि सम्भव छैन् ।”
यात्रुहरूको मर्कालाई ध्यानमा राखेर बस सेवा गरेकाे भएपनि पछि गएर यात्रु नै पाइन छाेडेपछि सेवा बन्द भएकाे उहाँले बताउनुभयाे। दशैंतिहारलाई मात्रै लक्षित गरेर बस सेवा सञ्चालन गर्नका लागि पनि अन्य रूटमै बस जान रूचाउने भएकाेले यहाँ सम्भव हुदैन्।
उहाँले भन्नुभयो,” बैतडी-काठमाडौं बस सेवा पुनः सञ्चालनका लागि सूचना आह्वान गर्छाै,तर यात्रु नै नपाइने समस्या रहेकाेले सम्भव हुन मुस्किल छ।”
