बैतडीः दशैं,तिहार र छठ पर्वलाई मध्यनजर गरेर बैतडीसहित सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएका छन्।
साल्ट ट्रेडिङ कर्पोरेशनका प्रदेश कार्यालयका प्रमुख वासुदेव उपाध्यायका अनुसार बैतडीको पाटन,कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डडेल्धुरा र डोटीको दिपायलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएका हुन्।
आगामी कार्तिक २२ गतेसम्म सञ्चालन हुने पसलहरूबाट नुन, चिनी, तेल,दाल,पिठाे,साबुन र चिउरा सुपथ मूल्यमा उपलब्ध गराइनेछन्।
साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनमा सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको डिपो कार्यालयका प्रमुख प्रेमसिंह कठायतले बताउनुभयाे ।
चिनी प्रतिकेजी ११० रुपैयाँ र नुन प्रतिकेजी २४ रुपैयाँका दरले सहुलियतमा मूल्यमा उपलब्ध गराइने, चिउरा र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइने बताइएको छ ।
सहुलियतको दरको चिनी एक व्यक्तिलाई दुई केजीमात्रै उपलब्ध गराइनेछ भने नुन बढीमा ६ केजी उपलब्ध गराइनेछ । यस्तै चिउरा बढीमा ५ केजी र तेल बढीमा ५ लिटर सहुलियत मूल्यमा उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनले जनाएको छ ।
सुपथ मूल्य पसल सञ्चालनमा आएसंगै स्थानीय नागरिक खुसी भएका छन्।
