बैतडी: सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बैतडीमा डेंगु र स्क्रब टाइफसकाे उच्च जाेखिममा परेकाे छ। यहाँका गाउँगाउँमा डेंगु र स्क्रब टाइफसकासंक्रमित फेला पर्न थालेसंगै यहाँ जाेखिम बढेकाे हाे।
स्वास्थ्य कार्यालयकाे तथ्यांक हेर्दा यहाँ गएको पाँच महिनायता ७० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। यस्तै ७७ जनामा स्क्रब टाइफस देखा परेकाे छ।
गएको एक महिनामा ६९ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि भएकाे देखिएकाे छ। गत भदाैमा मात्रै ३६ जनामा स्क्रब टाइफस र ३३ जनामा स्क्रब टाइफस पुष्टि भएकाे स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।
गत भदाैमा नै यहाँको पाटन नगरपालिका –५ वसन्तपुर कद्वार गाउँका नाै जनामा संक्रमण पुष्टि भएको थियाे।
यस्तै साउनमा १८/१८ जनामा, असारमा चारमा डेंगु र आठमा स्क्रब टाइफस,जेठमा चार र नाै जनामा स्क्रब टाइफस,वैशाखमा आठ जनामा डेंगु र नाै जनामा स्क्रब टाइफस पुष्टि भएकाेे स्वास्थ्य कार्यालयले जनाएको छ।
महिनैपिच्छे संक्रमित बढेसंगै यहाँ डेंगु र स्क्रब टाइफसकाे जाेखिम बढेकाे स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयाे। उहाँले भन्नुभयो,” वर्षातकाे समय भएकाले जाेखिम बढेकाे छ। जाेखिम बढेसंगै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेका छाैं।”
भरेर राखेका पानीका ड्रम, पानी जमेका खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि विकास हुने भएकाले सरसफाइमा ध्यान दिन स्थानीयहरुलाई सुझाव दिइएको छ। स्थानीय नागरिकहरुलाई एकै ठाउँमा जमा गरेर डेंगु रोगका र यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको छ।
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।
यस्तै डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्दछन्।
यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा जाेड दिइएकाे छ ।
