प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा ‘ठूली जात’काे राैनक

दशरथचन्दमा सार्वजनिक बिदा

बैतडी: बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लागेकाे जात्राकाे राैनकता छाएको छ ।
दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेकाे उक्त मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको थियाे।

भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको र सोही प्रचलन अनुसार भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको निङ्गलाशैनी भगवती मन्दिरका मूलपूजारी देवदत्त भट्टले जानकारी दिनुभयाे । 
भाद्र शुक्ल द्वादशीबाट जात्रा शुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरु मन्दिरमा जाग्राम बसेका स्थानीय दीपेन्द्र बाेहराले बताउनुभयाे । चतुर्दशीको अवसरमा लाग्ने मेलामा आज दिउँसो बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरुले जात्रा ल्याउने प्रचलन रही आएको छ । परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रही आएको हो । यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको छ। 

भदौ शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात भन्ने चलन रही आएको छ भने भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भन्ने चलन रही आएको निङ्गलाशैनी भगवतीका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयाे। 

यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुगेका छन्।
निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भएपनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिने चलन नरहेको भण्डारे बोहराले बताउनुभयाे । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

 यस्तै बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । 

नगरपालिकाको वडा नं २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राका लागि स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला आइतबारदेखि शुरु भइसकेको छ । जात्राको मुख्य दिन आज मंगलबारका दिन सार्वजनिक बिदा दिइएको हो । 

जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थापन गर्नका लागि मेला व्यवस्थापन समिति गठन गरिएको छ । मन्दिरका भण्डारे चक्रबहादुर बोहरा र स्थानीय जनप्रतिनिधिहरुको रहोबरमा नयाँ मेला व्यवस्थापन समिति गठन भएको हो । 

महेश भण्डारीको अध्यक्षतामा गठन भएको १३ सदस्यीय मेला व्यवस्थापन समितिको उपाध्यक्षमा गम्भीरसिंह बोहरा, सचिवमा भानबहादुर बोहरा, कोषाध्यक्षमा मनोज बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् । 

यस्तै भानबहादुर बोहराको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा अर्जुनराम लावड र करनराम लावड सदस्य रहेका मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिनुभयाे । 

समितिले निङ्गलाशैनी भगवती मन्दिरमा एक बर्षभरी लाग्ने मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न काम गर्नेछ । निङ्गलाशैनी भगवती मन्दिरमा एक बर्षमा चार पटक मेला लाग्ने गर्दछ । ती मेलाहरुलाई व्यवस्थापन गर्ने, दर्शनार्थीहरुलाई सहज रुपमा दर्शनको व्यवस्थापन गर्ने, मेलालाई मार्यादित रुपमा सम्पन्न गर्नका लागि मेला व्यवस्थापन समितिले काम गर्नेछ।
जात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा देउडा समेत हुने गरेको छ । 
शान्ति सुरक्षा कायम गर्न आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!