बैतडी:सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिक आएसंगै यहाँ चहलपहल बढेकाे छ। गाैराका नजिकिएसंगै गाउँघरमा चहलपहल बढेकाे दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेटका गणेशसिंह विष्टले बताउनुभयाे।
राेजगारीका लागि देशबाहिर रहेका,पढाइका लागि घरबाहिर रहेका र पुख्र्यौली थलो फर्कनेको संख्या बढेसंगै गाउँघरमा गाैराकाे चहलपहल बढेकाे हाे। यसका साथै किनमेल गर्नेहरूकाे संख्या पनि बजारहरूमा बढेको छ।
पहाडबाट बसाइसराईँ गरेर गएकाहरु गौराका लागि पुख्र्यौली थलोमा फर्कन थालेका छन् ।
तराईका जिल्लाबाट पहाड आउनेको संख्या बढेको अस्थाई ट्राफिक प्रहरी पाेष्ट,सतबाँझका ईञ्चार्ज सुरेन्द्र बहादुर चन्दले बताउनुभयो । पहिलाको तुलनामा गौरा नजिक आएसंगै तराईबाट पहाड आउने सवारी साधनकाे चाप छ।
गौरा पारिवारिक मिलनको पर्व भएकाले पनि सबै मानिसहरु एकै ठाउँमा भेट हुने गरेका छन्।दशैं भन्दा बढी महत्व दिएर गौरा पर्व मनाइने भएकाले पुख्र्यौली थलोमा फर्कनेको संख्या बढेको हाे ।
गाैरा नजिकिएसंगै सीमाक्षेत्रबाट स्वदेश फर्किनेकाे संख्या पनि बढेकाे ईलाका प्रहरी कार्यालय झुलाघाटका ईञ्चार्ज गंगाराम टमाटाले बताउनुभयाे। उहाँले भन्नुभयाे,” गाैरा नजिक आएसंगै सीमाक्षेत्रमा पनि भिडभाड बढ्न थालेकाे छ। गाैराकाे किनमेलका लागि समेत सीमावर्ती बजार जाने गरेकाले भिडभाड बढेकाे छ।”
यसैबीच सवारीसाधन र सीमाक्षेत्रमा भिडभाड बढेसंगै चेकजाँचमा कडाइ गरिएको छ।
गाैरालाई शान्त र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिकाे बैठक बसेर सुरक्षाकाे प्रवन्ध मिलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयाे।
शान्ति,सुरक्षाका साथै चाडपर्व लक्षित अनुगमन पनि जारी रहेकाे छ । उहाँले भन्नुभयाे,”गाैरालाई शान्त र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिकाे बैठक बसेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरि सुरक्षाकाे प्रवन्ध मिलाइएका छाैं। चाडपर्वका बेला हुने कालाेबजारी,अखाद्य बस्तु बिक्रीवितरण राेक्न बजार अनुगमन पनि संगसंगै थालेका छाैं।”
यश वर्षकाे गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली भदौ १० गते परेको छ ।
