बैतडी: बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चारदिनदेखि अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो र भासिदा सडक अवरुद्ध भएको हाे।
शनिबार रातिदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुहरुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन् ।
ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको पुरनसिंह ऐरले बताउनुभयाे । यसका साथै ठण्डापानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएकाे छ।
अवरुद्ध सडक सुचारु नहुँदा स्थानीयबासिन्दाहरु मारमा परेका छन् ।
चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरु समेत ढोल्यामोडबाट पैदल हिँड्न बाध्य भएका बताइको छ । उक्त सडकमा खसेको पहिरो पन्छ्याउनका लागि कसैले पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
सडक अवरुद्ध हुँदा आकस्मिक बिरामीहरुलाई समेत समस्या भएको छ । आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजान बोकेर लैजानुपर्ने अवस्था सिर्जना भएको छ।
अवरुद्ध सडक खुलाउनका लागि नगरपालिकाले समेत पहल नगरेको भन्दै आलोचना भइरहेको छ । पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध हुँदा दैनिक सैयौं यात्रुहरुले सास्ती भोग्नुपरीरहेको छ । साथै पुर्चाैडी क्षेत्रमा खाद्यान्न अभाव समेत हुन थालेकाे छ।
ढोल्यामोड–हाट सडक स्तरोन्नतीको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिरोको जोखिम बढी देखिएको छ ।
यसैबीच सडक सुचारू गर्न प्रयास गरपनि खुलाउन समस्या भएकाे पुर्चाैडी नगरपालिकाले जनाएको छ।
सडक खुलाउन दुईवटा जेसिबी प्रयाेग गरेर प्रयास गरिएको भएकाे सम्भव नभएकाे पुर्चाैडी नगरपालिकाका याेजना शाखा प्रमुख अनिलसिंह वाेहराले बताउनुभयाे।उहाँले भन्नुभयाे,” सडक सुचारू गर्न दुई जेसिबी प्रयाेग गरेपनि सम्भव हुन सकेन,पहिराे पन्छाउने काम भएपनि सडक भासिएकाे ठाउँमा समस्या भएकाे छ।”
तत्काल सडक सुचारू हुन नसक्ने बताउदै उहाँले वैकल्पिक सडककाे प्रयाेग गर्न आग्रह गर्नुभएकाे छ। वैकल्पिक मार्गकाे लागि कुट्याबगर धारुडी सडक सफाइको कार्य भइरहेकाेले उक्त सडक सञ्चालनमा ल्याइने जनाएको छ।
