करेन्ट लागेर बैतडीमा थप एकजनाको मृत्यु
जंगली जनावर मार्न मकैबारीमा थापेको विद्युतीय पासोमा परेर ज्यान गएको हो ।
बैतडी: करेन्ट लागेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका-७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्ट रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जंगली जनावर मार्नका लागि मकैबारीमा थापेको विद्युतीय पासोमा करेन्ट लागेर पार्वतीको मृत्यु भएको हो ।
आफन्तले पार्वतीको विद्युतीय पासोमा परेर मृत्यु भएको खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको छ ।
घटनास्थल कार्य गरेर मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि गत साउन १७ गते डिलाशैनी गाउँपालिका ३ गिरीबगरका १३ वर्षीय बालक किरण कोलीको पनि करेन्ट लागेर मृत्यु भएको थियो ।
