शिवनाथमा विद्युत बिस्तारमा तिव्रता, पहिलोपटक बिजुली पुग्दा खुसीयाली

बैतडी: बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा रहेको शिवनाथ गाउँपालिकामा विद्युत बिस्तारको काम धमाधम भइरहेको छ ।

गाउँपालिकाकाको वडा नं २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत बिस्तारको काम धमाधम भइरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।

भारतसंग सीमा जोडिएको शिवनाथमा पारी पट्टी भारतका अधिकांश भुभाग झिलिमिलि देखिने नेपाल तर्फको शर्माली र सौगडामा पहिलोपटक विद्युत पुगेको हो । विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र, गाउँपालिका र स्थानीय युवाहरुको सक्रियतामा शर्माली बजार क्षेत्रमा सोमबार राति विद्युत बाल्न सफल भएको अध्यक्ष साउँदले बताउनुभयो। उहाँले भन्नुभयो,“ वडा नम्बर २ को शर्मालीस्थित ५८ घरधुरीमा बिजुली बलिसकेको छ । जसमा क्याम्पस विद्यालय,वडा कार्यालय,बजारक्षेत्र लाभान्वित रहेको छ ।”

वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युत बिस्तारको काम चलिरहेको अध्यक्ष साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“सौगडाका अधिकांस घरमा विद्युत बिस्तार भइसकेको छ । मिटर किन्ने प्रक्रिया चलिरहेकोले एकदुई दिनमै बिजुली बल्छ ।”

शिवनाथको वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ । बाँकी रहेका ४ र १ नम्बर वडामा पनि विद्युत बिस्तारको काम हुने अध्यक्ष साउँदले बताउनुभयो ।

तल्लोस्वराड क्षेत्रका प्रमुख बजारहरुमध्ये दुर्गम क्षेत्रमा रहेको शर्माली बजारमा बिजुली बलेसंगै यहाँका नागरिक खुसी भएका छन् । बिजुली बलेसँगै स्थानीय अँध्यारोबाट मुक्त भएका छन् ।

शर्मालीका स्थानीय यो भन्दा पहिला घामबाट चल्ने सोलार, टुकीको भरमा उज्यालो बनाउने गरेकोमा बिजुली बलेपछि खुसी लागेको स्थानीय कृष्णसिंह साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ पहिला सोलार टुकीको भरमा राति उज्यालो गर्ने गरेका थियौं । बिजुली पुगेसंगै अध्यारोमुक्त भएका छौं । ”

बिजुली बलेसँगै मिल, कुटानी पिसानी र पेलानी मिल जडान गरेर सञ्चालन गर्न सजिलो भएको शर्मालीका व्यापारी प्रेमसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो,“ बिजुली नहुँदा विद्युतीय मिल सञ्चालन गर्न सकेका थिएनौं । विद्युतीय उपकरण सञ्चालनमा पनि समस्या अब सहज भएको छ । ”

शर्मालीस्थित नागार्जन माविका प्रधानाध्यापक गोपालसिंह महता पनि बिजुली पुग्दा दंग हुनुभएको छ । उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो,“विद्यालयमा बिजुली नहुँदा विद्युतीय उपकरण सञ्चालनमा समस्या थियो। कम्प्युटर लगायतका सामग्री जडान र विद्युतबाट सञ्चालन हुने अन्य काम गर्न पनि सजिलो भयो ।”

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र र गाउँपालिकाको समन्वयमा बिजुली बिस्तार धमाधम भइरहेको हो ।

शिवनाथ क्षेत्रमा ११ केभी लाइन बिस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेल पौडेलले जानकारी दिनुभयो ।
शिवनाथको शर्माली र सौगडामा दुई ट्रान्सफर्मर राखेर विद्युत विस्तारको काम भइरहेको छ । उहाँले भन्नुभयो,“ शर्मालीमा ५० केभीए र सौगडामा २५ केभीएको ट्रान्सफर्मर राखेको छौं । मेनलाईन र शाखा गरेर १६ किलोमिटर लाइन तानिएको छ । यो क्षेत्रमा अब विद्युतीय मिललगायत अन्य उपकरण सञ्चालमा कुनै समस्या हुने छैन् ।”

शिवनाथमा विद्युत विस्तारसंगै सोलारको भरमा सञ्चालनमा रहेको नेपाल टेलिकमको टावरमा पनि लाइन जोडिएको र नेटवर्कमा आउने समस्या अन्त्य हुने विश्वास गरिएको छ ।
यसैबीच यो संगै बैतडी जिल्लाका सबै स्थानीय तहमा आशिंक रुपमा विद्युत पुगेको नेपाल विद्युत प्राधिकरणका प्रमुख पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ शिवनाथमा बिजुली बलेसंगै जिल्लाका सबै स्थानीय तहमा आशिंक रुपमा विद्युत पुगेको छ। जिल्लाको ७५ प्रतिशत क्षेत्र विद्युतको पहुँच पुगेको छ । पूर्ण रुपमा बिस्तारको क्रम चलिरहेको छ । ”

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!