बैतडी:बैतडीमा जंगली जनावरकाे लागि थापेकाे पासाेमा चितुवा परेकाे छ। जिल्लाको दशरथचन्द नगरपालिका -१ गुरुखोला खाल भन्ने स्थानमा गएराति चितुवा पासोमा परेको हो ।
स्थानीय भरतबहादुर टेरले स्यालका लागि भनेर थापेकाे पासाेमा चितुवा परेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
भरतबहादुरले सञ्चालन गरेकाे कुखुरा फर्ममा आएर स्यालले कुखुरा खाने गरेपछि पासाे थापेकाे बताइएकाे छ। त्यसै पासाेमा चितुवा परेकाे हाे ।
चितुवाकाे बायाँपट्टि पन्जा पासाेमा परेकाे छ।
उक्त चितुवाको उद्घारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे टाेली मगाइएकाे प्रवक्ता ढुंगानाले बताउनुभयाे। उक्त टाेली आज दिउँसो यहाँ पुग्ने र चितुवालाई लठ्याएर उद्धार गरिनेछ।
उद्धारपश्चात चितुवालाई निकुञ्जमै लगेर छाडिने जनाएको छ।
निकुञ्जको टाेली नआउँदासम्म मान्छे नजिक नजाने गरि चितुवा वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
