सन्दीपसहित एनपिएलका आठ मार्की खेलाडी सार्वजनिक

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीका मार्की खेलाडी घोषणा गरिएको छ। 

क्यानले कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी,  आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई मार्की खेलाडीको रुपमा घोषणा गरेको हो। 

यी खेलाडीमा आबद्ध हुने टोली भने टुंगो लगाइएको छैन। एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्। अब आठ टोलीमा उल्लेखित खेलाडीमध्येबाट एक-एक जना आफ्नो टोलीमा आबद्ध गर्नेछन्।

मार्की खेलाडी आबद्ध भएको टोलीको घोषणा भोलि एक कार्यक्रम आयोजना गरेर गरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयाे। उहाँका अनुसार मार्की खेलाडी प्रदर्शन तथा सिनियारिटीको आधारमा गरिएको हो।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकांक्षी परियोजना एनपिएल आफैँले पहिलो पटक आयोजना गर्न लागेको हो। 

क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ। 

यसअघि आठ टोली कुल १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रूपैयाँमा बिक्री भएको थियो। 

क्यानले टोलीका लिलामी प्रक्रिया गरेको थियो। जसमा टिम पोखरा सर्वाधिक रकममा बिक्री भएको थियो। पोखराका लागि नेपाल टी-२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँको बोली लगाएको थियो।  आठ टोलीमध्ये सबैभन्दा कम रकम कर्णालीका लागि लागेको थियो। टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले  १ करोड ११ लाख रूपैयाँ तिरेको थियो। 

कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको थियो। 

टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको थियो। 

फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको थियो।  ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको थियो। जनकपुरले २ करोड ५ लाख रूपैयाँमा टिम किनेको थियो।

एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको थियो। टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले  १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!