काठमाडौं: एसीसी महिला एसिया कपमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ। श्रीलङ्काको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा यूएइलाई ६ विकेटले पराजित गरेको थियो ।
यूएईलाई जितेर नेपालले ईतिहास बनाएको थियाे। जुन महिला एसिया कपमा नै नेपालले हात पारेको पहिलो जित थियो ।
पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा बलियो प्रदर्शन गर्नु पर्नेछ । यूएईसँगको खेलमा ओपनर सम्झना खड्काले ७२ रनको आक्रामक इनिङ्स खेलेकी थिइन् । इन्दुले तीन विकेट लिँदा रुविना र सिताले किफायती बलिङ गरेका थिए ।
पाकिस्तान पछिल्ला पाँच टी- ट्वेन्टी आईमा जितविहीन छ । समूहको आफ्नो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।
एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा आमने सामने भएका थिए । जसमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।
यसै समूहको अर्को खेलमा दिउँसो सवा २ बजे भारत र यूएईबीच खेल हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।
