आज बुढी पोल्ने पर्व र विश्वकर्मा पूजा मनाइँदै

बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसंग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।

भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझ पोल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आर्चाय जयानन्द भट्टले बताउनुभयो । द्वापर युगमा भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको बताइएको छ ।

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको छ।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने प्रचलन समेत रही आएको छ । ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढी गाडेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रही आएको छ । बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन समेत रही आएको छ ।

ओल्के संक्रान्तिका दिन गाडिएको बुढीलाइ आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने चलन रही आएको छ ।

तर पछिल्लो समयमा भने बुढी पोल्ने पर्व लोप हुँदै गएको छ ।

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

हरेक बर्ष असोज संक्रान्तिका दिन मनाईने वास्तु दिवस एवम् विश्वकर्मा पूजा पर्व आज विश्वकर्माको पूजाआराधना गरी मनाउँदैछ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन्। यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्।

पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ। वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन्। पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ। लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको संख्या पनि बढ्न थालेको छ। यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!