काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नसक्नुभएन्। यही असार १७ गते राति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमती भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएकाे थियाे।
अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका प्रचण्डले शुक्रबार राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै पर्यो भने विपक्षमा १९४ मत पर्याे। मत दिन्न भन्नेमा एक मत पर्यो।
प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित रहनुभएकाे थियाे।
विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् भने नयाँ सरकार गठनको बाटो खुलेको छ।
पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न नसकेपछि डेढ वर्षमै प्रचण्ड सरकार ढलेको हो।
१० पुस ०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले चौथो पटकसम्म निरन्तर संसद्मा विश्वासको मत पाउँदै आउनुभएको थियोे । दुई ठूला दल नै मिलेपछि यसपटक भने उहाँ अविश्वासको सिकार बन्नुभयाे।
प्रधानमन्त्री बनेपछि पहिलो पटक २७ पुस ०७९ मा ९७ प्रतिशत बढी अर्थात् २७५ सदस्यीय संसद्मा २६८ सांसदको मत पाउनुभएकाे थियो ।
पटक पटक सत्ता समीकरण फेर्दै पाँचौं पटकसम्म आइपुग्दा ६३ मा सीमित भयाे। यससँगै ९ वर्षपछि माओवादी प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ।
नयाँ समीकरण अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्कापक्की भएकाे छ।
