बैतडी: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रोपटक खोलिन लागिएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ ।
बाँध खोलेका बेला र त्यसपश्चात केहि घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाईका लागि बाँधको ढोका खोलिन लागिएको हो ।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।
दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ ।
यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो ।
वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।
