भारतीय क्रिकेट टिमको मुख्य कोचमा गौतम गम्भीर नियुक्त

काठमाडौं । भारतीय क्रिकेट टोलीले मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले गम्भीरलाई नयाँ प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

बीसीसीआईले प्रमुख प्रशिक्षक पदका लागि आवेदन माग गरेकोमा भारतीय टोलीका पूर्वखेलाडी समेत रहेका गम्भीरले पनि आवेदन भरेका थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गौतम गम्भीरलाई मुख्य प्रशिक्षकमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउदैं बधाई दिनुभएको छ ।

गौतम आफ्नो समयका प्रभावशाली खेलाडीका रुपमा चिनिन्छन् ।

उनी भारतलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् । हालै सम्पन्न इन्डियन प्रिमियर लिग आईपीएलमा उनी कोलकाता नाइट राइडर्सका मेन्टर पनि थिए । आईपीएलको यो सिजनको उपाधि पनि कोलकाताले नै जितेको थियो ।

कोलकाता नाइट राइडर्समा आबद्ध हुनुअघि गम्भीर लखनउ सुपर जाइन्ट्सका मेन्टर थिए । त्यतिबेला लखनउले पनि आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । गम्भीरले भारतका लागि एक सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल पाँच हजार दुई सय ३८ रन बनाएका छन् ।

गौतम गम्भीरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ११ शतक र ३४ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले ५८ टेस्टमा कुल चार हजार एक सय ५४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा पनि उनले नौ शतक र २२ वटा अर्धशतक बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले दोहोरो शतक पनि प्रहार गरेका छन् । उनले देशका लागि ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल नौ सय ३२ रन बनाएका छन् । यस क्रममा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

यसअघि राहुल द्रबिड भारतीय टोलीका प्रमुख प्रशिक्षक थिए । उनकै प्रशिक्षकत्वमा भारतले हालै सम्पन्न टी–२० विश्वकपको नवौँ संस्करण जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!