बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी: बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १० ओटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाईसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।

बैतडीमा चालु आर्थिक बर्षमा जन्मेदेखि १५ महिनाभित्रका ४ हजार ९५१ जना र १६ महिनादेखि ५९ महिनासम्म १५ हजार १६ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण समेत गर्ने गर्दछ । बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणपश्चात खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तिर्थराज भट्टले बताउनुभयो ।
बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्धका ९ ओटा खोपहरु निशुल्क दिने गरिएको छ ।

पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र प्रसाद अवस्थीलगायतको उपस्थिती रहेको थियो ।

वि स २०७२ साल असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!