बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकालाई बिहीबार ‘आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित’ घोषणा गरिएको छ । ‘समता रणनीति कार्यान्वयन योजना २०८१’ अन्र्तगत पालिकाभित्र रहेका पाँचवर्षदेखि १२ वर्ष उमेरसमूहका सबै बालबालिका विद्यालय भर्ना भएपछि गाउँपालिकालाई आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित घोषणा गरिएको हो । \
दोगडाकेदार बैतडीकै आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित हुने पहिलो स्थानीय तह समेत बनेको छ ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत चक्रदेव जोशीका अनुसार उक्त उमेर समूहका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर नरहेको पाइएकाले आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित घोषणा गरिएको बताउनुभयो । गाउँपालिकाले केही महिना अगाडी पाँचवर्षदेखि १२ वर्ष उमेरसमूहका बालबालिका विद्यालयबाहिर रहे नरहेको बारे सर्भे गरेको थियो । आर्थिक अवस्था कमजोर भएका पाँच बालबालिका विद्यालय बाहिर रहेका भेट्टिएका थिए ।
उहाँले भन्नुभयो,“सर्भेका क्रममा आर्थिक अवस्था नाजुक भएका पाँचजना मात्रै विद्यालय भर्ना नभएका बालबालिका भेट्टिएका थिए । ती बालबालिकालाई पनि विद्यालय भर्ना गरिसकेपछि गाउँपालिकालाई आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पालिका घोषणा गरेका हौं ।”
विद्यालय भर्ना भएका ती पाँच बालबालिकाको पोशाकलगायतको शैक्षिक सामग्रीको व्यवस्था गाउँपालिकाले नै गरेको शिक्षा अधिकृत जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,“ भर्ना भएका ती बालबालिकाले गाउँपालिकाले विद्यालयमार्फत प्रतिवर्ष १६ हजार दिनेछ, त्यसमा मासिक १ हजारका दरले शैक्षिक सामग्री र ४ हजारको पोशाक किनिदिनेछ ।”
यसका साथै फरक क्षमता भएका भर्ना हुन छुट बालबालिका भए उनीहरुलाई पनि विषेश शिक्षा सञ्चालन भएका विद्यालयमा पठाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो ।
अबदेखि प्रत्येक वर्ष दिगोपना कायम गर्न आवश्यक कार्यहरु सञ्चालन गरिने दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिनुभयो ।
गाउँपालिकाको सभाहलमा सम्पन्न घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चक्रबहादुर कार्कीले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउदै आधारभुत शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयसम्म पुर्याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जिल्लामै पहिलो आधारभुत शिक्षामा सबैको पहुँच सुनिश्चित घोषणा गर्ने पालिका बनेकोमा बधाई दिदै अगामी दिनहरुमा दिगोपना कायम गर्नमा ध्यान दिन आग्रह गर्नुभयो ।
आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट कोही पनि बालबालिका टाढा नरहने बताउदैं गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले महिला र बालबालिकाको क्षेत्रमा थुप्रै कार्यक्रम सञ्चालनमा रहेका दाबी समेत गर्नुभयो ।
सामाजिक विकास समितिका संयोजक कमल राम सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,प्राधानाध्यापक,शिक्षक,स्थानीय बासिन्दालगायतको उपस्थिती रहेको थियो ।
दोगडाकेदारमा एक संस्थागत, ५४ सामुदायिक विद्यालय, नौ वटा समुदायमा आधारित बालविकास केन्द्रमा गरि साढे ६ हजार बालबालिका अध्ययनरत रहेका छन् ।

