काठमाडौं: नेपालमा मनसुन भित्रिएको २८ दिनमै विभिन्न विपदबाट ४५ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन हाल देशभर सक्रिय छ ।
जलवायु विज्ञ डाक्टर धर्म उप्रेतीका अनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्शानी भएको छ ।
मनसुनपछि ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको बताउनु भयो । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा बाढी, पहिरो, डुबान, चट्याङ घटना भएका छन् ।
साथै आगामी आईतवारसम्म अत्याधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष शतर्कता अपनाउन आग्रह गरिएको छ ।
साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने जनाइएको छ ।
समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठूले क्षति हुने निश्चित रहेको डाक्टर उप्रेतीले बताउनुभयो ।
