खस्कियो एसईई नतिजाः बैतडीका १८ विद्यालय निल

बैतडी: बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा खस्किएको छ । सामुदायिक विद्यालयहरुमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कदै गएपछि एसईईको नतिजामा पनि प्रभाव देखिएको हो ।

हालै सार्वजनिक २०८० सालको एसईई परीक्षाफलमा बैतडीका १८ ओटा विद्यालयको नतिजा शून्य आएको छ । एसईई सहभागी भएका १२८ सामुदायिक र ४ ओटा संस्थागत विद्यालयमध्ये १८ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो ।

नतिजा अनुसार सबैभन्दा बढी सुर्नया गाउँपालिकाभित्र रहेका ६ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ४, मेलौली नगरपालिकाका ३, दोगडाकेदार गाउँपालिकाका २, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका एक÷एक विद्यालयको नतिजा शून्य आएको हो ।

सुर्नयाका राष्ट्रिय मावि फाटीगडा, नेपाल राष्ट्रिय मावि ग्वानी, सिगास मावि मुसे, केदार मावि कठमडा, कैलपाल मावि झाडबो र उदयदेव मावि पालीगडाको नतिजा शून्य आएको छ ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका गुरुकुल मावि सेरा, सरस्वती संस्कृत मावि नगतडी, शोभा मावि देउमडा र कैलपालेश्वर मावि ऐँचेकाँडाको नतिजा शून्य आएको छ ।

यस्तै मेलौली नगरपालिकाका केदारेश्वर मावि दुर्गास्थान, सुदर्शन मावि लिखोडा र भरतपुर मावि गाउँकोट तथा दोगडाकेदार गाउँपालिकाका रौलेश्वर मावि कफलकोट र चनैराज मावि बडियाको नतिजा शून्य आएको छ ।

यसैगरी पाटन नगरपालिकाको निलपालेश्वर मावि डङसिली, सिगास गाउँपालिकाको भुमेश्वर मावि थला र पञ्चेश्वर गाउँपालिकाको देवथला मावि बस्कुको नतिजा शून्य आएको जनाएको छ ।

यहाँबाट २०८० सालको इसईईमा ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । जिल्लाबाट एसईईमा सहभागी भएका ६८.५१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । एसईई परीक्षाका लागि ५ हजार ८७ जनाले फारम भरेकोमा ४ हजार ८ सय ९४ जनामात्रै परीक्षामा सहभागी भएका थिए ।

एसईई सहभागी भएकामध्ये १ हजार ५सय ४१ जनामात्रै उत्तीर्ण र ३ हजार ३५ जना अनुत्तीर्ण भएका हुन् ।
माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भएपनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किदै गएको हो । निरन्तर रुपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भएपनि स्थानीय तहहरुले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् ।

दूर,दराजका विद्यार्थीको सबै प्रविधिसंग पहुँच नपुग्नु, शिक्षक दरबन्दी नहुनाले पनि नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,“शहर बजारका विद्यार्थी सबै प्रविधिको पहुँचमा हुने र दुर्गमका विद्यार्थी सबै प्रविधिका बारेमा जानकार नहुँने भएकाले नतिजा कमजोर आएको हो । नतिजा कमजोर आएपछि तिनै तहका सरकारको ध्यान पुग्न जरुरी रहेको छ ।”
खास गरेर स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधारमा बढी ध्यान दिनुपर्नेमा उहाँको जोड रहेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!