कांग्रेस-एमालेबीच सत्ता समिकरण: राष्ट्रिय सहमतिको सरकार हुने

काठमाडौं: कांग्रेस र एमालेबीच सत्ता समिकरण गर्ने सहमति भएकाे छ।
संसदका दुई ठुला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि सहमतिपत्र बनाएर हस्ताक्षर समेत गरिसक्नुभएकाे छ। 

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने, निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने, आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने जनाएको छ ।

दुबै दलले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने र सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने सहमति भएको छ ।

तत्कालका लागि एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने समझदारी छ ।

कांग्रेस-एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको हाे । एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्ने निश्चित छ । त्यसो हुँदा उनलाई तत्काल राजीनामा दिने वा विश्वासको मत लिने विकल्प हुनेछ ।

त्यसका लागि अनौपचारिक रूपमा दाहाललाई राजीनामा दिन अनुरोध गर्ने, नभए सरकारमा सहभागी एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी पनि भएको छ ।

राजनीतिको विकसित घटनाक्रमबारे देउवा र ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत जानकारी गराइसक्नुभएकाे छ ।
राष्ट्रपतिले संविधानको धारा ७६(२) अन्तर्गत नै सरकार बनाउन आह्वान गर्नुहुने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!