बैतडी:दशौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटको सुदूरपश्चिम छनौटमा बैतडी च्याम्पियन भएको छ । आज सम्पन्न फाइनल खेलमा बैतडीले कैलालीमाथि ४६ रनको शानदार जित निकाल्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५६ रन बनायो । जसमा अन्जु पार्कीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाइन् । यस्तै रविना बोहराले ३६,ममता चन्दले २९ र कप्तान रितु कनौजियाले १४ रनको योगदान गरिन् । कैलालीका कञ्चन सिंहले २, इरास्ना चौधरीले १ विकेट हात पारिन् ।
जवाफी ब्याटिङमा उत्रेको कैलालीले ५ विकेटको क्षतिमा ११० रन मात्रै बनाउन सक्यो । उसका लागि हिसिला खड्काले ३५,अलिशा विष्टले २६ र इरास्ना चौधरीले १५ रन जोड्नबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बैतडीकी कप्तान रितु कनौजिया,करिश्मा थापा र गंगा चन्दले १/१ विकेट लिए ।
च्याम्पियन भएको बैतडीले स्वर्णपदक हात पार्यो । कैलालीले काश्यपदकमा चित्त बुझायो ।
छनौट प्रतियोगितामा प्रदेशका ७ जिल्लाको सहभागिता रहेको थियो ।
