बैतडी:सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले वाई–वाई यू–१९ पुरुष प्रदेश छनोट एकदिवसीय क्रिकेट प्रतियोगिता–२०८३ को खेल तालिका सार्वजनिक गरेको छ। संघले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताका खेलहरू दशरथचन्द क्रिकेट स्टेडियम, बैतडी र फाप्ला क्रिकेट मैदान, कैलाली मा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयाे।
प्रदेशका आठ जिल्लाका यू–१९ खेलाडीहरूले आ–आफ्नो जिल्ला टोलीमार्फत प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी जिल्लालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ रहेका छन् भने समूह ‘बी’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन्। समूह चरणका सबै खेलहरू बिहान ८ः३० बजे सुरु हुने संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल असाेज २४ गते दशरथचन्द क्रिकेट स्टेडियम, बैतडीमा बैतडी र दार्चुलाबीच हुनेछ। सोही दिन फाप्ला क्रिकेट मैदानमा कैलाली र डोटी बीच अर्को खेल हुनेछ।
त्यसैगरी असाेज २५ गते दशरथचन्द क्रिकेट स्टेडियममा दार्चुला र बझाङ तथा फाप्लामा कञ्चनपुर र अछामबीच प्रतिस्पर्धा हुनेछ। असाेज २६ गते बैतडीमा दार्चुला र डडेल्धुरा तथा फाप्लामा डोटी र अछामबीच खेल हुनेछ। असाेज २७ गते बैतडीमा बझाङ र डडेल्धुरा तथा फाप्लामा कञ्चनपुर र डोटीबीच खेल तालिका राखिएको छ।
यसैगरी असाेज २८ गते दशरथचन्द क्रिकेट स्टेडियममा बझाङ र बैतडी तथा फाप्लामा कैलाली र कञ्चनपुरबीच खेल हुनेछ। असाेज २९ गते बैतडीमा डडेल्धुरा र बैतडी तथा फाप्लामा कैलाली र अछामबीच समूह चरणका अन्तिम खेलहरू सञ्चालन हुनेछन्।
समूह चरणपछि एक दिन विश्राम राखिएको छ। त्यसपछि असाेज ३१ गते बिहान ८ः३० बजे दशरथचन्द क्रिकेट स्टेडियम, बैतडीमा समूह ‘ए’ को शीर्ष स्थानमा रहने टोली र समूह ‘बी’ को शीर्ष स्थानमा रहने टोलीबीच प्रतियोगिताको फाइनल खेल हुनेछ।
प्रतियोगिताका लागि सहभागी टोलीहरूलाई तोकिएको खेल तालिकाभन्दा एक दिनअघि सम्बन्धित स्थानमा पुग्नुपर्ने व्यवस्था गरिएको छ। आयोजकले टोलीका लागि बसोबास तथा खानाको व्यवस्था गर्ने जनाएको छ।
त्यस्तै, प्रतियोगिताका लागि खेलाडीको कट अफ डेट १ सेप्टेम्बर २००८ तोकिएको छ। प्रतियोगितासम्बन्धी थप जानकारी तथा समन्वयका लागि बैतडी र कैलालीका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।
वाई–वाई यू–१९ पुरुष प्रदेश छनोट प्रतियोगिता सुदूरपश्चिम प्रदेशबाट यू–१९ राष्ट्रिय स्तरको टोली निर्माणका लागि महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ।
