नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौं: मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ ।

पहिलो सेमिफाइनलअन्र्तगत नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । नेपालको जितमा म्यान अफ दी म्याच समेत भएका दीपेन्द्रसिंह ऐरी नायक बने ।

जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६-४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९-५ हुँदै १४७ रनमा अलआउट नै भयो ।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १/१ विकेट लिए ।

नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ ।

सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।

प्रिमियर कपको फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।

एसिया कपमा छनोट हुनका लागि भने प्रतियोगिताको फाइनल जित्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!