काठमाडौं: नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि अष्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूले उदाहरणीय सहयोग गरेका छन्।
छोराछोरी भेट्न अष्ट्रेलियाको साउथ ब्रिस्बेन पालारा पुगेका नेपाली अभिभावकहरूले आफूलाई छोराछोरीले खर्चका लागि दिएको रकम संकलन गरी १ लाख ३ हजार ५२ रुपैयाँ ७३ पैसा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन् ।
हिथूड पाल्लारा नेप्लिज प्यारेन्ट्स समूहका सचिव देवेन्द्र कार्कीका अनुसार समूहले मात्रै अष्ट्रेलियन डलर ५०० र समूहमा आबद्ध अभिभावकहरूले थप रकम संकलन गरी उक्त सहयोग गरेका हुन्। कार्कीले भने, ‘छोराछोरीले हामीलाई खर्च गर्न दिएको रकम जम्मा गरेर राहत कोषमा जम्मा गरेका हौँ।’ छोराछोरी भेट्न अष्ट्रेलिया पुगेका नेपाली अभिभावकहरू पछिल्लो समय संगठित हुँदै आएका छन्।
उनीहरू नियमित भेटघाट गर्ने तथा नेपाली चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउँदै आएका छन्। यही आत्मीय सम्बन्धलाई सामाजिक सेवासँग जोड्दै उनीहरूले बाढीपीडितका लागि सहयोग जुटाएका हुन्।
आफूहरूका लागि छोराछोरीले दिएको व्यक्तिगत खर्चलाई समेत विपद्मा परेका नेपालीका लागि समर्पण गर्नुले प्रवासमा रहेका नेपाली अभिभावकको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको भावनालाई झल्काएको छ ।
समूह आधिकारिक रूपमा दर्ता नभएकाले राहत कोषमा रकम कुशल अधिकारीको नामबाट जम्मा गरिएको जनाइएको छ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा राज्यसहित विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सहयोग जुटिरहेका बेला अष्ट्रेलियामा रहेका नेपाली अभिभावकको यो सहयोगले ‘सानो रकमभन्दा ठूलो भावना’ भन्ने सन्देश दिएको छ ।
