बैतडी:बैतडीसहित सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ‘ओल्के पर्व’ मनाइँदै छ ।
पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टका अनुसार ओल्के पर्वलाई जेठो पर्वका रुपमा मनाउने गरिन्छ । ओल्के पर्वपछि अन्य चाडपर्व शुरु हुने भएकाले यसलाई जेठो पर्वका रुपमा मनाउने गरिएको हो ।
ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ । यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ । तर पछिल्लो समयमा भेटघाट गर्ने चलनमा भने कमी आएको छ ।
यसका साथै बिहानै नुवाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।
बर्षापछि पछिको संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्के पर्व मनाउने प्रचलन रही आएको छ ।
यो दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रही आएको छ । धेरै जसो ठाउँंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने चलन रही आएको छ ।
बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा आज नयाँ मकै चढाएर ओल्को दिने परम्परा रही आएको स्थानीय दीपेन्द्र बहादुर बोहराले बताउनुभयो। बारीमा फलेका मकै, गाबा लगायतका कृषि उपजहरु देवीदेवताका मन्दिरमा चढाएपछिमात्रै आफूहरुले खाने चलन रहेकाले भाद्र संक्रान्तिका दिन ओल्को चढाउने गरिएको छ।
यस्तै ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइती घरमा आउने चलन रही आएको छ। ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइतीमा आउने र मिठोमसिनो खाने चलन छ।
कतिपय ठाउँमा आजका दिनलाई ‘गब्या त्यार’भन्ने चलन रही आएको छ । आजैका दिनदेखि पिँडालुको गाबाको तरकारी खाने चलन रही आएको छ । पौष्टिकता हिसाबले गाबा निकै महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
‘बुढी’ हाल्ने प्रचलन
भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिका दिन यस क्षेत्रमा बुढी हाल्ने प्रचलन समेत रही आएको छ । आजका दिन गाउँ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हालेको भन्ने गरिएको छ ।
भाद्र संक्रान्तिका दिन गाडेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।
सुदूरपश्चिम सरकारले ओल्के पर्वका अवसरमा आज प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ ।
