बैतडीमा आधाभन्दा बढी रोपाइँ सकियो

बैतडी: बैतडीमा रोपाइँ गर्ने कार्य आधाभन्दा बढी सम्पन्न भइसकेको छ । कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलका अनुसार जिल्लामा ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
वर्षा नहुँदा यो वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत बर्ष असार १५ गतेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको बैतडीमा यो बर्ष बर्षा नहुँदा ६४ प्रतिशतमात्रै रोपाँइ भएको छ । उहाँले भन्नुभयो,“ यो बर्ष समयमा बर्षा नहुँदा सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा अझै रोपाइँ हुन बाँकी छ ।”
बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सक्ने भएपनि यो बर्ष बर्षा नहुँदा समस्या भएको हो ।

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमीन समेत घट्दै गएको छ । पछिल्लो कृषि गणनाको तथ्यांक अनुसार बैतडीमा ५ हजार २२५ हेक्टर जमीनमा मात्रै धानखेती हुने गरेको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा रोपाइँ हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ ।

सिचाइँ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रही आएको दोगडाकेदार ३ श्रीकोटका प्रेमसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“ सिचाइँ सुविधा छैन्,आकाशे पानीको भरमै रोपाइँ गर्नुपर्छ ।”

जिल्लाको पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसंग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसंग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसंग जोडिएको क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ ।

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!