कर्णाली शिवराजका मुख्य प्रशिक्षक चन्द्रबहादुरकाे यस्ताे छ नेपाली भलिबलमा याेगदान

काठमाडौं: नेपाल भलिबल लिग (NVL) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले गुल्मीका अनुभवी प्रशिक्षक चन्द्रबहादुर कुँवर लाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

गुल्मीको सत्यवती गाउँपालिका–२ का कुँवर नेपाली भलिबलका परिचित नाम हुन्। खेलाडीका रूपमा उनले नेपाल पुलिस क्लब बाट लामो समय प्रतिस्पर्धात्मक भलिबल खेलेका थिए। हाल उनी नेपाल पुलिस क्लबकै प्रशिक्षक का रूपमा कार्यरत छन्।
सन् २०१९ देखि प्रशिक्षकको भूमिकामा रहेका कुँवरसँग FIVB Level I Volleyball Coach को अन्तर्राष्ट्रिय प्रमाणपत्र रहेको छ।
प्रशिक्षण यात्रामा उनले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता (सुर्खेत–२०२४), लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता–२०२४, टाइगर कप–२०२५, रामपुर कप राष्ट्रिय भलिबल प्रतियोगिता–२०२५, दुधरक्ष्य कप राष्ट्रिय भलिबल प्रतियोगिता–२०२५, सनस्टार कप–२०२५, टप–२१ कप राष्ट्रिय भलिबल प्रतियोगिता–२०२५, ताकसेरा कप राष्ट्रिय भलिबल प्रतियोगिता–२०२६ तथा छैटौँ NVA Best Coach Awards–2026 मा उनी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

कुँवरले खेलाडीको सीप विकास, टोली रणनीति निर्माण, प्रशिक्षण सञ्चालन, खेलाडी छनोट, फिटनेस व्यवस्थापन तथा अनुशासित टोली निर्माणमा उल्लेखनीय अनुभव बटुलेका छन्।

नेपाल भलिबल लिगको पहिलो संस्करणको तयारीमा रहेको कर्णाली शिवराजले अनुभवी प्रशिक्षक कुँवरको नेतृत्वमा बलियो र प्रतिस्पर्धी टोली निर्माण गर्ने लक्ष्य लिएको छ।
टोलीले उनको अनुभव, नेतृत्व क्षमता र सफल प्रशिक्षण यात्राले पहिलो सिजनमा सकारात्मक नतिजा दिलाउने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!