बैतडी: बैतडीको शिवनाथ गाउँपालिकालाई आज ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ । “स्वस्थ आमा, सुरक्षित सुत्केरी, समृद्ध परिवार हाम्रो चाहना” भन्ने मूल नाराका साथ ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँद,जिल्ला न्यायाधीश तिर्थराज भट्ट,गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद, निवर्तमान उपाध्यक्ष कुश्मा चन्द,प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्ट,जिल्ला अस्पताल बैतडीका डाक्टर अरविन्द्र जोशीलगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जानकारी दिँदै शिवनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र सिंह महताले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न आवश्यक सबै सूचकहरू पूरा भएको बताउनुभयो ।
उहाँले पछिल्ला वर्षहरूमा गर्भवती महिलाहरूको नियमित गर्भ परीक्षण, दक्ष स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति सेवा, समयमै स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था, नवजात शिशुको स्वास्थ्य परीक्षण तथा प्रसूति पश्चात् सेवामा उल्लेखनीय सुधार भएको जानकारी दिनुभयो।
