बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका-५ स्थित न्वाली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
पोषणमैत्रीका लागि आवश्यक पर्ने १६ सूचक पूरा गरेपछि स्वास्थ्य चौकीलाई आज पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका पोषण सहजकर्ता जगदीश कार्कीले जानकारी दिनुभयो ।
न्वाली स्वास्थ्य चौकी दोगडाकेदारकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था समेत बनेको छ ।
पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नका लागि गर्भवती महिलाले कम्तिमा ४ पटक पूर्व प्रसुति जाँच गरेको,सुत्केरी महिलाले कम्तिमा ३ पटक उत्तर प्रसुति जाँच गरेको, गर्भवती महिलाले गर्भ अवधिभर १८० आइरन फोलिक एसिड चक्की खाएको,स्वास्थ्य संस्थामा सुत्केरी गराएको,बच्चा जन्मेको १ घण्टाभित्रै स्तनपान सुरुवात गरेको,५ वर्षमूनिका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ए र जुकाको औषधि खाएको,पूर्ण खोपयुक्त स्वास्थ्य संस्था भएको लगायतका १६ सूचक पूरा गरेको हुनुपर्छ ।
स्वास्थ्यसंस्थालाई पोषणमैत्री घोषणा कार्यक्रममा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की, वडाध्यक्ष करबिरसिंह कार्की,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथ,पोषण सहजकर्ता जगदीश कार्कीलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
यस्तै भोलि वडा नम्बर ४ मा रहेको श्रीकेदार स्वास्थ्य चौकी र वडा नम्बर ७ मा रहेको देउलेक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रम रहेको छ ।
स्वास्थ्य संस्था पोषणमैत्री भइसकेपछि वडा र पालिकालाई नै पोषणमैत्री घोषणा गरिने जनाएको छ ।
