बैतडी: बैतडीमा सम्पन्न यू-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताकाे उपाधि विरेन्द्र मावि शाहिलेकले जितेकाे छ। आज भएको फाइनल खेलमा कालाशैनी मावि बुड्डालाई ७२ रनले हराउँदै विरेन्द्रले उपाधि रक्षा गर्याे।
जितेका लागि पाएकाे १९० रनकाे विजय लक्ष्य पछ्याएको कालाशैनी १६.१ ओभरमा ११७ रनमा समेटियाे। जसमा मनाेज चन्दले अर्धशतकीय पारी खेल्दै ६१ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् ।
बलिङमा विरेन्द्रका टेकेन्द्र चन्द र संगम ठगुन्नाले ३/३ विकेट लिए।
यसअघि दशरथचन्द खेल मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको विरेन्द्रले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८९ रन बनायाे। उसका सुजल चन्दले अविजित ९५ रन जाेड्दै म्यान अफ दी फाइनल भए। कालाशैनीका विक्रम लावडले ३ विकेट झारे।
बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टाेलीकाे सहभागीता रहेकाे थियाे।
याे छनाेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय खेलका लागि समावेश गरिनेछ।
