बैतडी:बैतडीको शिवनाथमा गाउँपालिका सम्पन्न “शुभकामना कप” खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधि सागर स्पोर्टस क्लब मेलाैलीले हात पारेकाे छ।
गाउँपालिका–६ स्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बझाङ टाइगर्सलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै सागर स्पोर्टसले उपाधि रक्षा गर्याे।
सागर स्पोर्टसले २५-१५, दाेस्राे २५-१६ र तेस्रो २५-२० ले जितेकाे भलिबलका राष्ट्रिय रेफ्री धिरज चन्दले बताउनुभयो ।
उपाधिसंगै विजेता सागर स्पोर्टसले ५५ हजार ५५५ पुरस्कार पायाे। उपविजेता बझाङ टाइगर्सले ३३ हजार ३३३ रुपैयाँ र तृतीय स्थान हासिल गर्ने सोलमारी तिताबैले २२ हजार २२२ मा चित्त बुझायो ।
यस्तै आयाेजक श्रीकृष्ण आधारभुत विद्यालयले सान्त्वना स्थानमा पुग्याे।
प्रतियोगिताका सर्वाेत्कृट खेलाडी सागर स्पोर्टसका सन्ताेष खत्री, बेस्ट स्पाइकर बरूण ठगुन्ना,बेस्ट ब्लकर भरत विक,बेस्ट सेटर हिरा बाेहरा, बेस्ट सर्भर धरान टाइगर्सका प्रविन भण्डारी, बेस्ट डिफेन्डर तिताबैका सन्दीप भण्डारी र उदयीमान खेलाडी आयाेजकका सन्दीप चन्द भए।
विभिन्न पुरस्कार विजेतालाई प्रतियोगिताका संरक्षक तेजबहादुर चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदलगायतले पुरस्कार वितरण गर्नुभयाे।
कृष्ण आधारभूत विद्यालयको आयोजनामा तथा कानली सेवा समाजको प्रायोजनामा चैत २६ गतेदेखि सुरू भएकाे प्रतियोगितामा १२ टाेलीकाे सहभागीता रहेको थियाे।
स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन तथा सामुदायिक एकता सुदृढ गर्ने उद्देश्यका साथ प्रतियोगिताकाे आयोजना हाे।
समापन समाराेहमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा गायक शेरी औजी, गायिका सिता पुजारा र कमला नेपाली लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयाे ।
प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आपसी भाइचारा, सहकार्य र सामुदायिक एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
