काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबमाथि कीर्तिमानी जित निकालेकाे छ।
जनकपुरको रामजानकी क्रिकेट मैदानमा पुलिसलाई ५६ रनले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक फाइनलमा स्थान बनाउँने सम्भावना बनाएको छ ।
पिएम कपको इतिहासमा पहिलो पटक सुदूरपश्चिमले राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहने विभागीय टोलीलाई पराजित गरेको हो ।
पुलिसलाई सुदूरले पराजित गरेसँगै पिएम कपको इतिहासमा पहिलो पटक कुनै पनि प्रादेशीक टोलीले फाइनलमा स्थान बनाउँने पक्का भएको छ । यो खेल पछि दोस्रो स्थानमा उक्लिएको सुदूर र २ खेल खेल्न बाँकी मधेशको फाइनल सम्भावना रहेको छ ।
सुदूरले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा १३५ रन बनाउँदै अल आउट भयो । पुलिसका लागि गुलशन झाले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।
पुलिसलाई सस्तैमा समेट्न सुदूरका लागि कप्तान शेर मल्ल र हेमन्त धामीले समान ३/३ विकेट लिए ।
त्यसअघि टस जितेर पुलिसले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरले ४०.४ ओभरमा १९१ रनमा अल आउट भयो । सुदूरका लागि नारायण जोशीले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ खेले ।
खडक बोहोरा २२, हेमन्त धामी २०, किरण ठगुन्ना १७ तथा अशोक धामी १८ रनमा आउट भए ।
पुलिसका लागि दिनेश खरेलले ४ तथा सागर ढकालको नाममा ३ विकेट रह्यो ।
जितका साथ सुदूरको लिग चरणको खेल सकिदाँ ६ जित र ३ हारका साथ दोस्रो स्थानमा रहेको छ ।
मधेश प्रदेशले बाँकी रहेका दुवै खेलमा जित निकाले मात्र सुदूरको फाइनल यात्रा हुने छैन । मधेशले पुलिस र एपिएफसँग बाँकी खेल खेल्नेछ ।
आर्मी भने अपराजित रहँदै लगभग फाइनल नजिक रहेको छ ।
पराजित पुलिसले भने लिग चरणको अन्तिम खेलमा मधेशसँग खेल्नेछ ।
प्रतियोगितामा १० टाेलीकाे सहभागिता रहेकाे छ।
