बैतडी: बैतडीमा साेह्र वर्षमूनीका क्रिकेट खेलाडीका लागि नि:शुल्क प्रशिक्षण सञ्चालन गरिएको छ।
क्रिकेटका राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्व राष्ट्रिय खेलाडी रविन्द्र चन्दले प्रशिक्षण सञ्चालन गर्नुभएको हाे।
दशरथचन्द नगरपालिका-५ सुन्दरखालीस्थित दशरथ क्रिकेट मैदानमा सञ्चालन गरिएको प्रशिक्षणमा ४८ खेलाडीकाे सहभागीता रहेकाे नेपाल पुलिस क्लबका पूर्व कप्तान समेत रहेका पूर्व खेलाडी चन्दले जानकारी दिनुभयाे।
प्रशिक्षणमा खेलाडीलाई क्रिकेटसम्बन्धि आधारभूत ज्ञान र अभ्यास खेल सञ्चालन भइरहेको छ।
खेलाडी उत्पादनका साथै क्रिकेटको विकासका लागि प्रशिक्षण थालिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले बताउनुभयाे।
१६ वर्षमुनिका खेलाडी लक्षित क्रिकेट क्लोज क्याम्प सञ्चालन गरिएको र क्याम्पमा जिल्लाभरका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ।
क्याम्पमार्फत खेलाडीहरूलाई आधारभूत सीप, खेल कौशल र अनुशासनसम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको आयोजकले जनाएको छ। यसले स्थानीय स्तरमा क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
प्रशिक्षणले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै बैतडीमा क्रिकेटको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।
प्रशिक्षण कार्यक्रमलाई बैतडी जिल्ला क्रिकेट संघले सहयाेग गर्ने संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो । बैतडी जिल्लालाई क्रिकेटकाे उर्वर भूमी मानिन्छ उमेर समूहकाे याे प्रशिक्षणले खेलाडी उत्पादनमा महत्त्वपूर्ण याेगदान गर्ने चन्दकाे विश्वास छ।
