बैतडीका पालिकाहरुको बजेटः पुरानै योजना प्राथमिकतामा
स्थानीयको माग र आवश्यकता अनुसार बजेट ल्याइएको दाबी
बैतडी: बैतडीका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । यहाँ रहेका चार नगरपालिका र छ गाउँपालिका गरि १० स्थानीय तह सबैले लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका हुन् ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
सार्वजनिक नीति, कार्यक्रम र बजेटमा यहाँका स्थानीय तहहरुले पुरानै योजनाहरुलाई प्राथमिकतामा राखेको पाइएको छ । नयाँ तथा कुनै आकर्षक योजना नीति तथा कार्यक्रममा परेनन् ।
जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ८८ करोड ४५ लाख ९२ हजार बराबरको बजेट सार्वजनिक गरेकोमा पुरानै योजनालाई निरन्तरता दिइएको पाइन्छ ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र नगर क्षेत्रभित्र भौतिक पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ स्थानीयको आवश्यकता र मागअनुसार नै नीति,कार्यक्रम र बजेट ल्याईएको हो ।”
पुर्चौंडी नगरपालिकाले पनि नगरको समग्र विकासका गर्ने लक्ष्यसहित नीति,कार्यक्रम र बजेट ल्याएको जनाएको छ । ६२ करोड ४ लाख ९९ हजार ५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएकोमा भौतिक पूर्वाधार निर्माण र स्वास्थ्य, शिक्षा कृषिलाई प्राथमिकतामा राखिएको नगर प्रमुख दिपकबहादुर बमले बताउनुभयो ।
पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । पाटनले पनि कृषि,शिक्षा,स्वास्थ्यलाई नै बढी प्राथमिकतामा राखेको नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“ आवश्यकता र माग हेरेर नीति,कार्यक्रम र बजेट निर्माण गरेका हौं, बजेटले सबै पक्षलाई समेटेको छ ।”
जिल्लाको मेलौली नगरपालिकाले पनि स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको ४९ करोड ५ लाख ९५ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
पर्यटन प्रवद्र्धन, कृषि,शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । शिवनाथले ३५ करोड २३ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उहाँले भन्नुभयो,“जनताका आधारभूत आवश्यकता पुरा गर्न बजेटले सहयोग गर्नेछ । भौतिक विकासका साथै मानसिक विकासलाई टेवा पुग्ने गरि नीति,कार्यक्रम र बजेट ल्याएका छौं । ”
दोगडाकेदार गाउँपालिकाले ५१ करोड २० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पुरानालाई निरन्तरता र केही नयाँ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित बजेट निर्माण गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । ४० बर्षमाथिका सामाजिक सुरक्षा कार्यक्रममा नसमेटिएका एकल पुरुषलाई भत्ता दिने,तराईबाट बसाइसरेर आउने नागरिकलाई बिशेष प्रोत्साहन गर्ने,शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर आगामी बर्षका लागि बजेट ल्याइएको जनाएको छ ।
जिल्लाको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।
पारित बजेटले गाउँपालिकाभित्रका सडकलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गर्ने, संस्थागत सुशासनको क्षेत्रलाई विस्तार गर्ने लगायतका योजनामा केन्द्रित रहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।
सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५१ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टका अनुसार शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर ४० करोड ४२ लाख ८१ हजार बराबरको बजेट अनुमान गरिएको बताउन्ुभयो ।
डिलाशैनी गाउँपालिकाले पनि शिक्षा,स्वास्थ्य, खानेपानी,सामाजिक विकासलाई प्राथमिकतामा राखेर ६० करोड ८३ लाख ४० हजार बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले जानकारी दिनुभयो ।

