भेटेरिनरी अस्पताल १७ महिनादेखि चिकित्सकविहीन

बैतडी: बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गएको १७ महिनादेखि पशु चिकित्सकविहीन रहेको छ । गत वर्षको मंसिरदेखि चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो ।

विशेषज्ञ चिकित्सक अभावका कारण पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको छ । करारमा कार्यरत डाक्टर विशाल पाठक वि स २०८१ मंसिरमा स्थायी सेवामा नाम निकालेर अन्यत्र गएपछि केन्द्र लामो समयदेखि चिकित्सकविहीन बनेको उहाँले बताउनुभयो । केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ती गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको हो ।
उहाँले भन्नुभयो,“ केन्द्रमा चिकित्सक नहुँदा विभिन्न समस्या झेल्नुपरेको छ। हेल्थ सर्टिफिकेट, पोस्टमार्टमलगायतका काम रोकिएका छन् ।”

गएको महिना सिगास गाउँपालिकाको जंगलमा घाइते भएको चितुवाको बच्चाको उपचारका लागि डडेल्धुराबाट चिकित्सक बोलाउनुपरेको थियो । त्यस्तै, शिवनाथ गाउँपालिकामा एक स्थानीयको गाईको उपचारका लागि पनि बाहिरबाटै चिकित्सक ल्याउनुपरेको थियो ।

पन्तका अनुसार सामान्य उपचार सेवा केन्द्रमै उपलब्ध भए पनि विशेषज्ञ चिकित्सकको हस्ताक्षर आवश्यक पर्ने रिपोर्ट तथा जटील रोगको उपचारमा समस्या हुने गरेको छ । गम्भीर प्रकृतिका बिरामी पशुका लागि कहिलेकाहीँ धनगढीबाट समेत चिकित्सक बोलाउनुपर्ने अवस्था रहेको पन्तले बताउनुभयो ।
विशेषज्ञ सेवा अभावका कारण पशुमा लाग्ने रोगको पहिचान, निदान, ल्याब परीक्षण, शल्यक्रिया तथा निरोगिता प्रमाणीकरणजस्ता सेवा प्रभावित बनेका छन् । यसले पशुपालन क्षेत्रमा लगानी गरेका किसानहरुलाई समस्या भएको बताइएको छ ।

चिकित्सक अभाव रहेकोबारे प्रदेश सरकारलाई जानकारी गराइसकेको भएपनि कहिले सम्म पदपूर्ति हुनेबारे टुंगो नलागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ चिकित्सक अभाव हुँदा समस्या भएकोबारे प्रदेशलाई जानकारी गराइसकेका छौं । लोकसेवा खोलेको छ ,कहिले आउछन्, टुंगो छैन् ।”

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!