काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्ने क्रममा सुदूरले कर्णालीलाई ४ विकेटले हरायो ।
कर्णालीले दिएको १२० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण ठगुन्ना सर्वाधिक २६, खडक बोहोरा २३ रनमा आउट भए । मिलन बोहोरा १८ तथा कप्तान शेर मल्ल १० रनमा अविजित रहे ।
कर्णालीका लागि अनुज चनरा र कप्तान दिवान पुनले समान २ तथा दीपेन्द्र रावत र प्रकाश जैशीले समान १ विकेट आफ्नो नाम गरे ।
त्यसअघि बिरगञ्जमा टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले कर्णालीलाई ३२ ओभरमा ११९ रनमा अलआउट गर्यो।
कर्णालीका लागि विपिन रावल विपिन रावल सर्वाधिक ३३, सुनिल धमला २८ तथा अरविन्द घर्ती १३ रनमा आउट भए ।
सुदूरपश्चिमका लागि हेमन्तले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट आफ्नो नाममा गर्दा कप्तान शेर मल्ल, अशोक धामी, नारायण जोशी र मिलन बोहोराले समान १ विकेट लिए । हेमन्त प्लेयर अफ दी म्याच समेत चुनिए।
जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
