बैतडी: बैतडीमा सम्पन्न नेपाल-इन्डो टि २० क्रिकेट प्रतियोगिताकाे उपाधि भारतीय टाेली पिथाैरागढले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा आयाेजक पञ्चकाेटी युवा क्लबलाई ११६ रनकाे विशाल अन्तरले हराउदै पिथाैरागढले उपाधि रक्षा गरेकाे हाे।
पहिला ब्याटिङ गरेकाे पिथाैरागढले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२४ रनकाे स्काेर बनायाे।
उसका ३ ब्याटरले अर्धशतक प्रहार गरे। जसमा प्लेयर अफ दी फाइनल समेत भएका जीवन मेहताले ६२,विवेक भट्टले ६० र पञ्कज सउन ५९ रनमा अविजित रहे। पञ्चकाेटीका कमल बुडालले २ विकेट झारे।
बुड्डाबाजे खेलमैदान रातामाटामा जवाफी ब्याटिङमा उत्रेकाे पञ्चकाेटी १७.५ ओभरमा १०८ रनमा समेटियो ।
उसका दिपेश बाेहराले सर्वाधिक ३९ रन जाेडेपनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ पिथाैरागढका अमन लाेहिया ३ विकेट हात पारे।
उपाधिसँगै पिथाैरागढले ६५ हजार हात पार्दा पञ्चकाेटीले ३० हजारमा चित्त बुझायाे।
यसैबीच प्रतियोगिताभर १६३ रन र ५ विकेट हात पारेका पञ्चकाेटीका सुमित बुडाल सर्वाेत्कृष्ट खेलाडी चयन भए।
यस्तै पञ्चकाेटीबाटै खेल्दै २०५ रन हिर्काएका प्रयास रावल बेस्ट ब्याटर, ११ विकेट लिएका पिथाैरागढका अमन लाेहिया बेस्ट बलर, पिथाैरागढकै विवेक भट्ट बेस्ट किपर, कालाशैनी क्रिकेट क्लबका नरेन्द्र चन्द बेस्ट फिल्डर, दशरथचन्द एकेडेमीका टेक रावल उदयीमान खेलाडी र पिथाैरागढकाे टिम अनुशासित टिम समेत बन्याे ।
पुरस्कृत टिम र खेलाडीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी “लख्खाभाई”,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्द, आयोजक पञ्चकाेटी युवा क्लबका अध्यक्ष उत्तम चन्दलगायतले सम्मान गर्नुभयाे।
