बैतडीका सबै पालिकाको नीति,कार्यक्रम र बजेट सार्वजनिक

बैतडी: बैतडीका सबै स्थानीय तहले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ८८ करोड ४५ लाख ९२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र नगर क्षेत्रभित्र भौतिक पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले जानकारी दिनुभयो ।

पुर्चौंडी नगरपालिकाले पनि सोमबार १५ औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिएको जनाएको छ ।
नगरसभामा उपप्रमुख मीना धानुकले ६२ करोड ४ लाख ९९ हजार ५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरसभामा नगर प्रमुख दिपकबहादुर बमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पुर्चौंडीको समग्र विकासका लागि बजेट ल्याइएको उहाँले बताउनुभयो ।

पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार पाँचौं नगरसभा तथा प्रथम अधिवेशनमा उपप्रमुख कमलसिंह बोहराले पेश गरेको बजेट पारित भएको छ ।
नगरसभामा नगर प्रमुख गौरीसिंह रावलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख बोहराले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।
आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाभरी रहेका दलित समुदायका हरेक घरमा एक घर एक धारा निर्माण अभियान सञ्चालन गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको र त्यसका लागि बजेटको व्यवस्थापन गरिनुका साथै कफी खेती विस्तार र मौरीपालन विस्तारमा नगरपालिकाले बिशेष ध्यान दिइने उपप्रमुख बोहराले बताउनुभयो । पाटनले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा ६५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य समेत राखेको छ ।

जिल्लाको मेलौली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड बढीको अनुमानित बजेट नगरसभामा पेश गरेको छ । १४ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख भीमबहादुर चन्दले आगामी आर्थिक बर्षका लागि ४९ करोड ५ लाख ९५ हजार बराबरको अनुमानित बजेट पेश गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिनुभयो ।
सभामा पेश भएको बजेटमाथि थप छलफल गरेर संशोधनसहित पारित हुनेछ । नीति तथा कार्यक्रम र बजेटमा आएका सुझावहरुलाई समेत समेटेर नगरसभाको अर्को बैठकले पारित गर्ने मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा विष्टले जानकारी दिनुभयो ।

यस्तै शिवनाथ गाउँपालिकाले आगामी आर्थिकका लागि ३५ करोड २३ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सोमबार गाउँसभाको १३ औं अधिवेशनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिनुभयो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले गाउँपालिकाको नीति तथा कार्यक्रम र उपाध्यक्ष शकुन्तला साउँदले आर्थिक विधेयक प्रस्तुत गर्नुभएको हो । सभामा गाउँपालिका प्रवक्ता केशवबहादुर चन्दले विनियोजन विधेयक प्रस्तुत गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयसंग अध्यक्ष कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
शिवनाथ गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणाका लागि आवश्यक बजेट र कार्यक्रम तय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो । यस्तै लैंगिक हिंसामुक्त पालिका घोषणाका लागि पालिकाले पहल गर्ने उल्लेख गरिएको छ ।
नसर्ने रोगहरुको जोखिम बढ्दै गएकाले गाउँपालिकाबासीहरुको उपचारमा पहुँच पुर्याउन आगामी आर्थिक बर्षमा गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने र शर्मालीमा सञ्चालनमा आएको ग्रामप्रकाश बहुमुखी क्याम्पसको स्तरोन्नती गरिने बताइएको छ ।
यस्तै एक वडा एक खेलमैदान कार्यक्रमलाई पालिकाले निरन्तरता दिने बताइएको छ । विगतमा सञ्चालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिँदै कृषि क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

दोगडाकेदार गाउँपालिकाले सोमबार गाउँसभाको १३ औं अधिवेशनमा ५१ करोड २० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँपालिका प्रवक्ता दिनेश प्रसाद भट्टले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो ।
यसका साथै दोगडाकेदार गाउँसभाको १३ औं अधिवेशनलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्र बहादुर पालले समेत सम्बोधन गर्नुभयो ।

जिल्लाको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष धाना धामीले प्रस्तुत गरेर बजेट सभाबाट पारित भएको हो ।
पारित बजेट गाउँपालिकाभित्रका सडकलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गर्ने, संस्थागत सुशासनको क्षेत्रलाई विस्तार गर्ने लगायतका योजनामा केन्द्रित रहेको जनाएको छ।
यस्तै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सभामा पेश गरेको नीति तथा कार्यक्रम पनि पारित भएको छ । सिगास गाउँपालिकाको समग्र विकासका लागि नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५१ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले उक्त बजेट सार्वजनिक गर्नुभयो ।
आगामी आर्थिक बर्षका लागि गाउँसभामा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष कुँवरले गाउँपालिकाले तय गरेका नीति र कार्यक्रमलाई सफल बनाउन बजेट विनियोजन गरेको बताउनभयो ।

यसका साथै पञ्चेश्वर गाउँपालिकाले पनि आगामी वर्षका लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष बिना भट्टका अनुसार शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर ४० करोड ४२ लाख ८१ हजार बराबरको बजेट अनुमान गरिएको बताउन्ुभयो ।

डिलाशैनी गाउँपालिकाले पनि शिक्षा,स्वास्थ्य, खानेपानी,सामाजिक विकासलाई प्राथमिकतामा राखेर ६० करोड ८३ लाख ४० हजार बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले जानकारी दिनुभयो ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!