काठमाडौं: काठमाडौंमा सम्पन्न जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
माथिल्लो मूलपानी क्रिकेट स्टेडियममा बिहीबार सम्पन्न खेलमा साविक विजेता नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । यससँगै पुलिसले लगातार दोस्रोपटक जय ट्रफीको उपाधि जित्न सफल भएको छ ।
२२७ रनको लक्ष्य पुलिसले आफ्नो दोस्रो पारीमा ५६ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको छ । पुलिसका लागि राशिद खान र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । १२८ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै राशिदले ८१ रन बनाए । कुशलले ६४ बलमा ५ चौका प्रहार गर्दै ५१ रन बनाए ।
दिनेश खरेलले २५ र कप्तान आरिफ शेखले १४ रन बनाए । दिलसाद अली ३१ र शंकर राना १३ रनमा नटआउट रहे ।
आर्मीका लागि पवन कार्की र साहब आलमले २–२ तथा आकाश चन्द र भीम सार्कीले १–१ विकेट लिए ।
त्यसअघि, आफ्नो दोस्रो पारीमा आर्मी ७४ दशमलब २ ओभरमा २२६ रनमा अलआउट भयो ।
