बैतडी: चैत महिनाको शुरु भएसँंगै बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु भएको छ । बैतडी, दार्चुलालगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको र यसैलाई भिटौलो भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । पहाडबाट तराईंमा बसाईसरेकाहरुले भिटौलो मनाउँदै आएका छन् ।
मिठो मसिनो पकाएर छोरी बहिनीहरुलाई उनीहरुकै घरमा गएर प्रत्येक बर्ष चैतको महिना भेट्ने चलन रही आएको दार्चुलाका गंगासागर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो‘ चैतको महिना दीदीबहिनीलाई भेट्ने हाम्रो परम्परागत चलन हो । मिठोमसिनो पकाएर दिदीबहिनीको घरमा जाने सुखदुखहरु बाड्ने चलन रही आएको छ ।’
चैतको महिना दिदीबहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको जोशीले बताउनुभयो । चैतको महिना भेटघाट गर्ने र छोरीबैनीहरुको दुखसुखका बारेमा कुराकानी हुने गरेको छ ।
चैतको महिनामा माइतीबाट दाजुभाई कहिले भेट्न आउलान भनेर दिदी बहिनीहरुले पनि बाटो कुर्ने गरेका छन् । आफ्ना दाजुभाई नहुनेहरुले वल्लोपल्लो घरका दाजुभाईहरु समेत गएर भेटघाट गर्ने चलन छ । छोरीबहिनीहरु प्रतिको माया, ममता बढाउन र माइती पक्षको सम्झना मेटाउनका लागि भिटौलाका चलन चलेको पण्डित देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘माइतीघरबाट पराइ घरमा रहेकी छोरीबहिनीहरुप्रति आत्मीयता दर्शाउन भिटौलाको चलन चलेको हो ।’
पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहल पहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन् ।
माइतीले चैतको महिना छोरीबहिनीहरुलाई भेट्ने चलन परापूर्वकालदेखि चलि आएको स्थानीय संंस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो‘दाजुभाई दीदीबहिनीबीचको आत्मीय सम्बन्धको एक कडी हो भिटौलो पर्व । हाम्रो समाजमा पहिलादेखि नै महिलाको उच्च सम्मान गर्ने चलन छ । त्यसै चलनको रुपमा यसलाई लिन सकिन्छ ।’
चैत महिना शुरु भएसंगै माइती पक्षले छोरीबैनीहरुको घरमा जाने चलन रही आएको छ । वसन्त ऋतुको आगमनसंगै छोरीबैनीहरुको नियास्रो मेटाउन भिटौलाको चलन रही आएको छ ।

