बैतडी: हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) देशकै पहिलो दल बन्यो । प्रत्यक्षतर्फ १२५ सिटमा जित दर्ता गराएको छ । जसमध्ये १० सिट सुदूरपश्चिमबाट जितेको छ । सुदूरका १६ सिटमध्ये प्रत्यक्षतर्फ १० सिट जितेको रास्वपा प्रदेशमा पनि पहिलो दल बन्यो । यसका साथै समानुपातिकतर्फ पनि ३ लाख १७ हजार ८३६ मतसहित यहाँ रास्वपा पहिलो शक्ति बनेको छ ।
सुदूरपश्चिममा रास्वपालाई पहिलो शक्ति बनाउने पर्दा पछाडिका हिरो हुन्। भोजराज जोशी ‘क्वालिटी’। सुदूरपश्चिममा रास्वपाको जन्म दिएका जोशी प्रदेशका संस्थापक महामन्त्री रहनुभयो । हाल केन्द्रीय मन्थन विभागका सदस्य हुनुहुन्छ ।
रवि लामिछानेको नेतृत्वमा वि स २०७९ असार ७ गते स्थापना भएको रास्वपा हालैको निर्वाचनमा अप्रत्यासित जित निकालेको हो । जसको अंश सुदूपश्चिम पनि हो । यहाँ रास्वपा जिताउने मुख्य नायक तथा पर्दा पछाडिको हिरोका रुपमा देखिएका जोशीले हालसम्म कुनै पनि लाभमा पदमा बस्नुभएको छैन् ।
उमेरले जेनजी पुस्ताका भएपनि जोशीले सुदूरपश्चिममा रास्वपा जिताउन भने परिपक्क देखिनुभयो ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका जोशी पार्टी स्थापनाकालदेखि सुदूरपश्चिममा संगठन विस्तारको काममा लाग्नुभयो । युवामाझ लोकप्रिय जोशी बैतडीसहित सुदूरपश्चिमका अधिकांस जिल्लामा संगठन विस्तारकै लागि भनेर पुग्नुभयो ।
सुदूरपश्चिममा रास्वपा नामको पार्टी चिनाउन तथा विस्तारमा जोशीको अहम भूमिका छ । स्थापनाकालमा रास्वपाको संगठन विस्तार गर्न निकै चुनौतीपूर्ण रहेको बेला पनि जोशी एक्लै भएपनि गाउँगाउँ पुग्नुभयो ।
सुदूरका अधिकांस जिल्लामा रास्वपामा आवद्ध हुन निकै कम रुचाउने गरेका तितो अनुभव जोशीसँग रहेको छ । उहाँले भन्नुभयो,“रास्वपाको संगठन विस्तारका लागि निकै संघर्ष गरियो। नयाँ पार्टी भएकाले रास्वपामा आवद्ध हुन रुचाउने मान्छे न्यून भेटिएपनि मैले एकोहोरो प्रचार गरिरहे । जसको फल अहिले प्राप्त भएको छ । ”
पार्टी संगठनका लागि हर बखत उपस्थित हुने जोशी हालको चुनावको परिणामबाट निकै खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो,“हाम्रो बुथकेन्द्रमा बस्ने एजेन्ट समेत पाएनौं । तर जनताले हामीलाई जिताएर देखाए । ”
पार्टीमा इमान्दार र समाजसेवामा समर्पण
पार्टीमा इमान्दार भएर लागेका जोशीलाई प्रत्यक्षको टिकटको अफर आएर पनि हरिमोहन भण्डारीलाई पार्टीमा भित्र्याए । र जिताएर पनि देखाए । इमान्दार भएकै कारण जोशी प्रत्यक्ष मात्रै नभएर समानुपातिकको सूचीमा रहनुभएको थियो । तर पार्टी सभापति रविले बालेनलाई पार्टीभित्र भित्र्याएपछि नयाँलाई स्थान दिनुपर्ने कुरा आएपनि जोशी समानुपातिकबाट पनि बाहिर हुनुभयो ।
जोशी उम्मेदवार नभएकोमा स्थानीय नेता कार्यकर्ता रुष्ट समेत भए । तर जोशीले सबै नेता कार्यकर्तालाई एकढिक्का पार्दै प्रचारप्रसारमा जुटे ।
उहाँले कुनै पद नभएपनि पार्टीलाई जिताउन रातदिन खटिए । हालको चुनावमा जोशीले खास गरेर बैतडी जिल्लालाई केन्द्रित गर्नुभयो । जिल्लाका १० वटै पालिका र ८४ वटै वडा पुगेर मत माग्नुभयो ।
सानैदेखि कलाकारिता र सामाजिक कार्य गर्न रुचाउने जोशी गरिब,दिनदुखीका सधै सारथी हुनुहुन्थ्यो। कोेरोना महामारीका बेला पनि जोशीले सीमामा अलपत्र परेका नेपाली नागरिकको उद्धारदेखि अक्सिजन आपूर्ति,मास्क वितरणसम्मको काममा सक्रिय रहनुभयो ।
यसका साथै देश विदेशमा कुनै नेपालीको समस्यामा भए समस्या समाधानदेखि आर्थिक सहयोगको काम पनि गर्नुभयो ।
कुनै व्यक्ति आर्थिक अभावले उपचार नपाएको भए आर्थिक संकलन अभियानमा समेत सक्रिय रहनुभयो । जोशीको समाजप्रतिको उत्तरदायित्वका कारण हाल बैतडीमा पार्टीलाई जित निकाल्न सहज भएको रास्वपाका जिल्ला सचिव हरिश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,“ क्वालिटी जी कै व्यक्तिगत छविका कारण अहिले जिल्लामा पार्टीलाई जिताउन सहज भयो । उहाँकोे समाजप्रतिको उत्तरदायित्वले हामीले जित हासिल गर्यौं । ”
बैतडीमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले बाजी मार्नुभएको छ । पूर्वमन्त्री तथा एमालेका उम्मेदवार दामोदर भण्डारी र नेपाली कांग्रेसका तर्फबाट नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई पछि पारेर हरिमोहनले जित हासिल गर्नुभएको हो ।
यसअघि ३ पटक निर्वाचन जितेका एमालेका भण्डारी र अन टेस्टेड कांग्रेसका चन्दलाई निर्वाचनमा पराजय गर्नु सहज भने थिएन । तर हरिमोहन जित्नुको पछाडी जोशी मुख्य नायक रहनुभयो ।
रास्वपाका हरिमोहन भण्डारीले प्रत्यक्षतर्फ २२ हजार १३४ मत ल्याएर विजयी हुनुभयो ।यस्तै समानुपातिकमा पनि २३ हजार ७३६ मत ल्याएर रास्वपा जिल्लामा पहिलो स्थानमा रह्यो ।
विजयी भएपश्चात हरिमोहन भन्दा क्वालिटीलाई बधाई दिनेको संख्या बढी देखियो । भर्खर मात्रै रास्वपामा आएका हरिमोहनभन्दा क्वालिटी जिल्लामा परिचित रहेकाले उहाँको बढी क्रेज रहेको हो । फलस्वरुप एमाले कांग्रेसका कोर एरियामा समेत रास्वपा हाबी भयो ।
स्वयं रास्वपाबाट विजयी हुनुभएका हरिमोहन भण्डारी पनि जोशीकै इमान्दारिताका कारण आफू विजयी भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ मेरो जितको पछाडीका हिरो भोजराज जी नै हुन् । उहाँको इमान्दारीका कारण म यहाँ पुगेको हुँ । उहाँले आफूले पाएको पद मलाई दिएर जिताउनुभयो । म धन्यवाद दिन चाहन्छु ।”
निर्वाचनका जित हासिल गरेपनि जनताका धेरै समस्या समाधान गर्न बाँकी रहेकाले ती कामहरु पूरा गर्ने र सधै समाजसेवामा समर्पित हुने जोशीले बताउनुभयो ।


