सेनाका पृतनापति केसीद्वारा दुर्गमका बेस क्याम्पहरुको निरीक्षण

बैतडी: नेपाली सेनाका सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी किरण केसीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दुर्गममा रहेका निर्वाचन सुरक्षाका बेस क्याम्पहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

उपरथी केसीले आज बैतडीको दुर्गम सिगास गाउँपालिकाको गर्जेमा रहेको बेस क्याम्पको निरीक्षण गर्नुभएको श्रीबक्स गुल्मका गु्ल्मपति सेनानी पुष्प लामाले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सिगास पुग्नुभएका उपरथी केसीले बेस क्याम्पको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिनुभएको सेनानी लामाले बताउनुभयो ।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले बैतडीका सबै स्थानीय तहका साथै सुदूरपश्चिमभरी बेस क्याम्प स्थापना गरेको छ ।

दुर्गममा रहेका बेस क्याम्पहरुको अवस्था र सुरक्षा फौज कसरी बसेको छ भन्ने कुराको जानकारी लिइएको छ । उपरथी केसी बैतडीपश्चात दार्चुलातर्फ जानुभएको श्रीबक्स गुल्मले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित ढंगले मतदान गर्ने वातावरण बनाउन नेपाली सेना फिल्डमा खटिएको हो ।

फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीमा नेपाली सेनासहित करिब दुई हजार छ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एकमात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ जना मतदाता रहेका छन् । जिल्लाभरी एक सय २९ मतदान स्थल रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदान रहनुभएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!