मुगु: श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ ।
नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गर्नुभएको हो ।
नगरप्रमुखमा निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरक्षेत्रका विभिन्न स्थानमा श्रमदानमा खटिँदै आउनुभएका प्रमुख भामले श्रमदानलाई निरन्तरता दिन, श्रमदान संस्कृति जोगाइराख्न र कम लागतका सानातिना समस्या श्रमदानबाटै समाधान गर्नका लागि कार्यविधि ल्याइएको बताउनुभयो ।
यसअघि स्वतःस्फूर्त रुपमा श्रमदान गर्न स्थानीय, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी सहभागी भए पनि को–को आए, कति घण्टा काम गरे, कतिपटक श्रमदानमा सहभागी भए भन्ने तथ्याङ्क राख्ने गरिएको थिएन ।
अब नगरपालिकामा सबै श्रमदान गर्नेहरुको रेकर्ड राखिनेछ ।
