दार्चुला: दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान आफ्नै घरको बाहिरपट्टि मृत अवस्थामा फेला परेकी हुन्।
बिगत करिब २० वर्षदेखि एक्लै बस्दै आएकी जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार घटनाबारे मंगलबार बिहान करिब ९ बजे खबर प्राप्त भएपछि प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घटनास्थलमा पुगेको हो।
मृतक जोशीले लगाएका करिब तीन तोला सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको मृतकका छोरा नातापर्ने माधव जोशीले जानकारी दिनुभयो। मृतक जोशीका श्रीमान् भने सोही वडाको तलचौरा भन्ने स्थानमा रहेको अर्को घरमा बस्दै आएका थिए।
मृतकका आफ्नै छोरा नरहेको खुलेको छ। प्रहरीले घटनालाई हत्या हुनसक्ने आशङ्कामा लिएर आवश्यक प्रमाण सङ्कलन तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

