सुरेश महरा/बैतडी: सुदूरपश्चिम प्रदेशका चार जिल्लाका पत्रकारहरुका लागि बैतडीमा एआई,मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गोठलापानीमा सुरु भएको प्रशिक्षणको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सार्कीले एआई सम्बन्धी तालिम आजको आवश्यकता भएकोमा जोड दिनुभयो । प्रदेशमा छिट्टै प्रेस रजिस्ट्रार गठन हुने, आम सञ्चार विधेयक पारित हुने प्रक्रियामा रहेको र पत्रकारिताको कुन पाटोमा सहयोग गर्दा अझ प्रभावकारी हुन्छ भन्ने विषयमा मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गर्न आफू तयार रहेको मन्त्री सार्कीको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना र पत्रकार महासंघ बैतडीको सहआयोजनामा सञ्चालन भएको तालिम दुई दिनसम्म चल्नेछ ।
प्रशिक्षण कार्यक्रममा बैतडीसहित डडेल्धुरा, बझाङ र दार्चुलाका ४० जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ । प्रशिक्षणमा एआई प्रविधिको प्रयोग गरी समाचार संकलन, फोटो तथा भिडियो सम्पादन, मोबाइलमार्फत समाचार उत्पादन, डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशनलगायतका विषयमा व्यवहारिक जानकारी दिइने प्रशिक्षक विकास कार्कीले जानकारी दिनुभयो ।
पत्रकारितालाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत बहादुर शाहले बताउनुभयो ।
तालिममार्फत पत्रकारहरूलाई नविनतम प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्दै समाचार संकलन, सम्पादन र प्रसारणलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा डिजिटल पत्रकारिता, एआईको प्रयोगमार्फत समाचार उत्पादन, मोबाइल फोनबाट फोटो, भिडियो र अडियो सामग्री तयार गर्ने सीप, मल्टिमिडिया स्टोरीटेलिङ लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ । प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेकाले पत्रकारहरूलाई समयअनुसार अद्यावधिक गर्नु आवश्यक रहेको तालिमका प्रशिक्षकहरूले बताएका छन् ।
प्रदेशस्तरमै पत्रकारहरूको दक्षता बढाउने उद्देश्यले आयोजना गरिएको यो तालिमले सुदूरपश्चिममा आधुनिक, प्रविधिमैत्री पत्रकारिता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

