बैतडी: भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको अनारखाेली,खाेडपे,श्रीभावर,सतबाँझ,देहिमाडाैंक्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएराति देखिनै अवरुद्ध रहेका हुन्।
राति देखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
हिमपातले राजमार्ग अवरुद्ध हुनका साथै विद्युत सेवा पनि बन्द रहेकाे छ । उहाँले भन्नुभयाे,” रातिकाे भारी हिमपातले राजमार्ग र विद्युत सेवा ठप्प छ। पुनः सञ्चालनका लागि पहल थालिएको छ।”
यस्तै डडेल्धुराकाे साहुखर्क,हगुल्टेलगायतका क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेकाे प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला,बझाङ,डाेटी,डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ।
यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् ।
गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेकाे छ।
