खडेरीले हिउँदे बाली सुके,वर्षाको माग गर्दै मन्दिरमा पूजा र जाग्राम

सुरेश महरा,बैतडी: लामो खडेरीले हिउँदे बाली सुक्न थालेपछि बैतडीका किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको लागि मन्दिरमा प्रार्थना गर्न थालेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ५ स्थित रौलाकेदार धाममा स्थानीय बासिन्दाहरू जाग्राम ् पूजा गर्न बसेका छन् ।

पानीको माग गर्दै किसानहरु बाजागाजासहित मन्दिरको भण्डार घरमा जाग्राम बसेका स्थानीय प्रिन्स महराले जानकारी दिनुभयो । गहुँसहित अन्य हिउँदेबाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका हुन् । उहाँले भन्नुभयो,“ स्थानीय किसानहरु बाजागाजासहित जाग्राम र पूजा गर्न बसेका छन् । आज राति मन्दिरमै पूजा गर्ने र जाग्राम बस्नेछन् । ”
परम्पराअनुसार बाजागाजा सहित धाममा पुगेर रातभर जाग्राम बसेर प्रार्थना गर्ने चलन रहेको छ । लामो समयदेखि वर्षा नहुँदा खेतीमा ठूलो क्षति भइरहेकोले स्थानीय पानीको प्राथना गरिरहेका छन् ।
पुरानो जनविश्वास अनुसार देवतालाई आराधना गर्दा वर्षा पर्छ भन्ने मान्यता रहेको स्थानीय समाजसेवी गणेशबहादुर महराले बताउनुभयो । स्थानीयहरु जहिल्लै पानी नपरे केदारको शरणमा जाने गरेका र भगवान प्रशन्न भएर पानी पर्ने गरेको महराले बताउनुभयो ।
यसरी केदारको प्राथना गरे पानी पर्ने जनविश्वास रहिआएको छ ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गएको चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । लामो खडेरी हुँदा यहाँका किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!