बैतडी: लगातारको खडेरीले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गहुँबाली सुकेको छ । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको किसानहरुले बताएका छन् ।
हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको हो । यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुक्दै गएको बैतडीको दोगडाकेदार २ का किसान नरबहादुर भाटले बताउनुभयो । उहाँले भन्नुभयो,“ पुस अन्तिम लागिसक्दा समेत यो बर्ष हिउँदे बर्षा भएको छैन् । गहुँबालीलगायत हिउँदे बालीहरु सुक्दै गएका छन् । ”
लगातारको खडेरीले गहुँबाली सुक्दै गएपछि भोकमरीको पनि चिन्ता बढेको छ । लामो खडेरीका कारण गहुँबाली सुक्दै गएकोले चिन्ता थपिएको मेलौलीका केशब दयालले बताउनुभयो । उहाँले भन्नुभयो,“ यो बर्ष खडेरीका कारण गहुँबाली सुकेको छ । खेत बाँझै भएका छन् । गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।”
सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुक्न थालेको डडेल्धुराको आलितालका जयबहादुर विष्टले बताउनुभयो । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको छ । उहाँले भन्नुभयो,“ खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट देखिएको छैन् । यो बर्ष गहुँको उत्पादनमा कमी आउने निश्चित छ ।”
लगातारको खडेरीले गहुँबाली सुकेपछि भोकमरी हुने चिन्ता थपिएको दार्चुलाको मालिकार्जुनका सन्तोष धामीले बताउनुभयो । गहुँ, जौंलगायतका बालीहरु सुक्दै गएका छन् । उहाँले भन्नुभयो,“ आकाशे पानीको भरमा रहेका किसान खडेरीले गर्दा भोकमरीको चिन्तामा छन् । खडेरीका कारण जनजीवन प्रभावित भएको छ। ”
बर्खेबाली मध्येको मकैमा जंगली जनावर क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेकोमा हिउँदमा पनि खडेरीका कारण गहुँ उत्पादनमा ह्रास आउने किसानहरुले बताएका छन् ।
बैतडीमा १५ हजार ४ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये आधा भन्दा बढी जमीनमा सिँचाइ सुविधा छैन् ।
सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो । गहुँबाली उम्रेको २१ दिनभित्र सिँचाइको आवश्यकता पर्ने भएपनि सिँचाइ सुविधा नभएका ठाउँमा समस्या भएको छ । उहाँले भन्नुभयो,“ लामो समयदेखि पानी परेको छैन् । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ । गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । ”
